पृथ्वीनारायण शाहप्रति नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन्। २ सय ९७ औं पृथ्वी जयन्तिको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने बताए।

राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र सो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधिन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने बताए।