मुलुकको समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यकः रामचन्द्र पौडेल

पुस १६, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिमा मुद्दा मिलेकाले सभापति शेरबहादुर देउवासँग एक भएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दामा सभापतिसँग आफू एक भएको बताएका हुन् ।

कार्यक्रममा उनले एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्ने उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले नेपाल कम्युनिस्ट पार्टीले अझै पनि सिद्धान्तको टुंगो लगाउन नसकेकाे आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री ओली अहिले पनि जनवाद भनेर भन्दै हुनुहुन्छ, अनि अध्यक्ष प्रचण्ड समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’ सिद्धान्तको टुंगो नलागेको पार्टीकै कारण अहिलेको सरकार गतिहिन बनेको पौडेलको दाबी छ ।

नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको जिकिर गर्दै पौडेलले भने, ‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन्। काम गर्ने ढंग छैन।’ उनले भने ।

केपी ओली नेतृत्वको सरकार सबैभन्दा शक्तिशाली भएतापनि उनीसँग राष्ट्र हाँक्न सक्ने खुबी नभएको टिप्पणी गर्दै उनले अब मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्ने बताए ।

पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्दर्भिकता अझै रहेको उल्लेख गर्दै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तिका बीचमा अझै पनि एकता आवश्यक रहेको धारणा राखे ।