माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौँ, १४ पुस । २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरी यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको छ ।  गृह मन्त्रालयमा हिजो बसेको मूल समारोह समितिको बैठकले आगामी माघ २ गते उक्त दिवस मनाउन आवश्यक कार्य विभाजन र कार्यक्रमहरू समेत तय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको समारोह समितिको उक्त बैठकले भूकम्प सुरक्षा दिवस मनाउन व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकालाई तोक्नुका साथै सो दिवस ललितपुरको जाउलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) प्राङ्गणमा मनाउने निर्णय गरेको जानकारी गृह मन्त्रालयका सहसचिव ईन्दु घिमिरेले दिनुभयो ।

उहाँका अनुसार प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउनका लागि प्रदेशहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र जिल्लाहरूलाई गृह मन्त्रालयबाट नै पत्राचार गर्ने निर्णय बैठकले गरेको थियो । बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उच्च भूकम्पीय जोखिमयुक्त हाम्रोजस्तो मुलुकमा भूकम्पीय जोखिम न्यूनीकरण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

विपद्को समयमा राहत र उद्धार कार्यमा स्थानीय तह र आमनागरिकलाई समेत परिचालन गर्न मिल्ने गरी यससम्बन्धी कार्ययोजना बनाउनुपर्ने आवश्यकता समेत उहाँले औँल्याउनुभयो । भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी भौतिक संरचनाको निर्माण नै पहिलो र सबभन्दा भरपर्दो उपाय रहेको चर्चा समेत उहाँले गर्नुभयो ।