दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको राजीनामा

काठमाडौं, ११ पुस । आज दिउँसो मात्र आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने अभिव्यक्ती दिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्ततः राजीनामा दिएका छन् । दोस्रो कार्याकालका लागि प्राधिकरण अध्यक्षमा सरकारले झालाई नियुक्ति गरेसँगै उनको चारैतिर विरोध भएको थियो।

गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्देशन दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठकमा झाले राजीनामा दिएको बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।  झाले आज दिउँसो मात्र पत्रकार सम्मेलनमा आफूलाई राजीनामा दिन कुनै डर नरहेको अभिव्यक्ति दिएका थिए।

झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका थिए । उनले भनेका थिए  ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’