शैक्षिक भ्रमणबाट फर्कदै गर्दा दाङमा बस दुर्घटना, मृतकको संख्या २२ पुग्यो ५ को सनाखत

७ पुस, घोराही । दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

मृतक र घाइते सबै घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक स्कुलका शिक्षक र विद्यार्थी हुन् ।

बसमा  स्कुलका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना थिए । उनीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए ।

भ्रमणबाट फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो । ओरालो घुम्ती बाटो किनारका रेलिङ र रुखसमेत भाँचेर करिब सात सय मिटर तल बस खसेको छ ।पत्रपत्रिकाबाट