वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको दबाब, भोलिदेखि नयाँ व्याजदर लागु हुदै

पौष ५, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सहमति कायम गराएको छ। जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्।

त्यस्तै व्यक्तिगत मुद्दतीमा ९.२५ तथा संस्थागत मुद्दतीमा ८.५ प्रतिशत मात्रै तोकिएको छ। यसअघि बचतमा ७ प्रतिशत तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतको उच्चतम सीमा तोकेको थियो।

मुद्रास्फितिको दरअनुसार बचत खाताको व्याजदरमा सीमा कायम राख्न तथा बचतमाभन्दा केही बढी दिनेगरी मुद्दतीको व्याजदरलाई स्थिर राख्न बैंकहरुलाई नै सहमति गराउनुपर्ने भन्दै मुद्रा तथा पुँजी बजार समितिले सुझाव दिएसँगै आज यस्तो सहमति गराइएको हो।

बैंकहरुले व्यक्तिगत मुद्दतीमा लगाएको १० प्रतिशतको सीमा मंसिर १८ गते बसेको संघको बैठकले हटाए लगत्तै विभिन्न बैंकहरुले १३ प्रतिशतसम्मको व्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका थिए।