सेयर लगानीकर्ता आमरण अनसनमा, शेयर कारोबार ठप्प

काठमाण्डौ, ०२ पौष। शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार र विस्तारका लागि आमरण अनशन सुरु गरेको दिन शेयर कारोबार समेत ठप्प भएको छ। सोमबार बजार खुलेको आधा घण्टासम्म कुनै पनि कारोबार नभएको नेप्सेले जनाएको छ ।

सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् ।

दवाब समूहका संयोजक हरि ढकाल र समूहबाट अर्थमन्त्रालयमा वार्ता गर्न गएका तिलक कोइराला सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जको मूल गेट अगाडि आमरण अनसनमा बसेका हुन् ।

दबाब समूहले शेयर लगानीकर्ताहरुलाई कारोबार समेत नगर्न अपिल गरेको थियो ।