चोलेन्द्र शमशेर जबरा सर्वसम्मत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं, २७ मंसिर । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस भएको छ । संवैधानिक परिषदको आज बसेको बैठकले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा जबराको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दिएको जानकारीअनुसार परिषद् बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ ।

भावी प्रधानन्यायाधीशका लागि न्याय परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र जबराको नाम सिफारिस गरेको थियो। तर, जोशी संसदीय सुनुवाई विशेष समितिबाट यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका थिए।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ देखि अनिवार्य अवकाश पाउँदैछन्। अब संसदको संसदीय सुनुवाई समितिले जबराका नाम अनुमोदन गरेपछि प्रधानन्यायाधीश बन्नेछन्।

संवैधानिक परिषदको पत्राचार अनुसार संसदीय समितिले उनीमाथि प्रारम्भिक रूपमा उजुरी आह्वान गर्नेछ। कम्तीमा दश दिनको समय उजुरीका लागि दिइनेछ। दश दिनको समयपछि प्राप्त उजुरी अध्ययन गरी समितिले उनलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ।