भारतीय विधानसभा निर्वाचनमा भाजपालाई झट्का, तीनवटा राज्यमा कंग्रेसको सरकार

एजेन्सी । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ ।राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको हो । भारतको ५ वटा राज्यमा भाजपालाई पछाडि पार्दै कंग्रेसले तीनवटा राज्यमा सरकार बनाउने पक्कापक्की भएको छ।

पाँच मध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । ती तीनै राज्यमा उसले हार बेहोरेको छ ।मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ ।मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ ।

त्यसैगरी छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ । यो प्रदेशमा कूल ९० सिटको प्रदेशसभामा भारतीय कंग्रेस पार्टीले ६८ सिटसहित बहुमत हासिल गरेको छ । सत्ताधारी दल भाजपा १६ सिटमै सिमित भएको छ ।
पाँच वर्षअघि भएको निर्वाचनमा यहाँ भाजपाले ४९ सिट जितेको थियो । राजस्थानमा २ सय सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ ।

त्यसैगरी दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ । कूल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरए गठबन्धनले ८८ सिटमा विजयी भएको छ ।कंग्रेस र तेलगुदेशम् पार्टी गठबन्धनले १९ सिट जितेको छ ।