आज बालाचतुर्दशी, दिवंगत पितृका नाममा दीपदान गरि शतबीज छरिँदै

मंसिर १९,काठमाडौं । देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गर्ने गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ ।

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने उनले बताए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
-रासस