तामाकोशीको शेयर नपर्नेलाई पैसा फिर्ता पाउन कठिनाइ

काठमाडौँ, ९ मङ्सिर। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेर बाँडफाँड गरेको लामो लामो समय बित्दा समेत केही आवेदकहरुले आफ्नो पैसा फिर्ता पाउन सकेका छैनन् । शेयर बाँडफाँडको ५ दिनदेखि नै शेयर नपरेको पैसा फिर्ता सुरु गरिए पनि धेरै आवेदकको बैंक खातामा अझै पैसा जम्मा हुन सकेको छैन ।

तामाकोशीको शेयरमा आवेदन गर्ने क्रममा लगानीकर्ताले बैंक खाताको सही विबरण उपलब्ध नगराएका कारण पैसा फिर्ता गराउन समस्या भएको नागरिक लगानी कोषले जनाएको छ । जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका शेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार आवेदकहरुले उपलब्ध गराएको बैंक खातामा आईपिएस प्रणालीबाट पैसा फिर्ता आएको छ । तर बैंक खाता नमिलेका केही आवेदकको मात्र पैसा फिर्ता हुन नसकेको हो ।

पैसा फिर्ता नपाएका लगानीकर्ताले जलविद्युत आयोजनाको सहायक शेयर निष्काशनकर्ता सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्ने छ । बैंक खाताको विबरण अद्यावधिक गराई तीन पटक सम्ममा पनि आईपिएस प्रणालीबाट पैसा रकमान्तर हुन नसके चेक बनाएर रकम उपलब्ध गराइने छ ।